काभ्रेमा डेङ्गी फैलिँदै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १५, शनिबार (२ हप्ता अघि)
  • ३१ पटक पढिएको

काभ्रेमा डेङ्गी फैलिँदै

डेढमहिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक÷एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन्।

‘शुक्रबार एकै दिन छ जनामा डेङ्गी देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौं, व्यक्ति आफैं पनि सचेत बन्नुपर्दछ,’ श्रेष्ठले भने।

बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन्। बनेपा र पनौतीमा १३÷१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन÷तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई÷दुई र तेमाल गाउँपालिकामा एक डेङ्गी सङ्क्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिए।

सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताए। सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको उनले जनाए।

प्रमुख श्रेष्ठका अनुसार डेङ्गीको उच्च जोखिममा नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि रहेको छ। लामखुट्टेको टोकाइबाट डेङ्गी लाग्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस