जिल्लाको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ । ३९ सूचक पुरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको पनौतीले यसको दिगोपनाको लागि समेत बालश्रममुक्त नगरपालिका घोषणा भएको हो ।
शनिवार एक कार्यक्रमविच पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरे ।
६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘पनौती नगरपालिका बालश्रममुक्त घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
मुख्यमन्त्री लामासहित वाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, तीर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवाला सबैले त्यसको दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेशभरका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउने बताए ।
`बालअधिकार सुनिश्चितताको लागि बालश्रममुक्त घोषणा गर्नु महत्त्वपूर्ण कदम हो, यसका लागि म पनौती नगरपालिकाका प्रमुख लगायत सबैलाई बधाई र धन्यवाद व्यक्त गर्छु,´ उनले भने, `बागमति प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउनेछौ ।´
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री तीर्थ लामाले पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरिएकोमा शुभकामना व्यक्त गर्दै यसको दिगोपनाका लागि निरन्तर कार्यक्रम गर्नको लागि आग्रह गरे ।
बागमती प्रदेश सभाका सदस्य तथा पुर्ब उधोग राज्य मन्त्री कञ्चन चन्द्र बादेले बालबालिकाको सुनौलो भविष्य र बाल अधिकार संरक्षणका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० तयार गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधि सञ्चालन गरेर नगरपालिकालाई बालश्रममुक्त घोषणा गरेको नगर प्रमुख भण्डारीले बताए । नगरका १ देखि १२ वडा बालश्रममुक्त भएसँगै पूरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको हो ।