नेपालमा क्यानाडाको राजदूताबास आवश्यक छ : परराष्ट्रमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (१५ घण्टा अघि)
  • ३३ पटक पढिएको

नेपालमा क्यानाडाको राजदूताबास आवश्यक छ : परराष्ट्रमन्त्री

क्यानाडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा क्यानाडाको राजदूताबास आवश्यक भएको बताएकी छिन्।

उनले दुताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरिन्। क्यानेडियन विदेशमन्त्री मेलानी जोलीसँगको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन्।

‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको संख्या पनि पछिल्लो समय बढ्दो छ,’ उनले भनिन्, ‘अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ। त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।’

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ।

क्यानेडियन विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा क्यानाडा पुगेकी हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन्।

नेपालको संसदले हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी उनले गराइन्।

क्यानाडा र नेपालबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस