गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन्। मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको बताए।
कार्यक्रममा उनले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिए। उनले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरे।
गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले–‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो।’
लोकतन्त्र मर्यादित व्यवस्था भएकाले अनुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिएका छन्।
उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने समेत बताए।
कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति छ।