नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे। उनले यो उ निर्वाचनले आम निर्वाचनका लागि पनि सन्देश दिेन बताउँदै यसलाई अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन्।
‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो,’ उनले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु।’
उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उनले बताए । अध्यक्ष दाहालले आफ्नो नेृृतत्वको सरकारले देशमा सुशासनको पक्षमा काम गरेकाले अहिले साकारात्मक भाव पैदा भएको दाबी गरेका छन्।
आफ्नो नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार, विभेद र अन्यायकाविरुद्ध एवं सामाजिक न्यायका पक्षमा काम गर्दै देशलाई आर्थिक संकटबाट ठूलो प्रयास गरेकाले अहिले त्यसको नतिजा देखिएको बताए ।
अध्यक्ष दाहालले उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट पारे ।
‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन्।