काभ्रे । आगामी मार्चमा काभ्रेमा विश्व युवा महोत्सव गर्ने भएको छ। जिल्ला समन्वय समिति काभ्रेले विश्व युवा महोत्सव गर्ने तयारी गरेको हो।
विश्वभरका करिब १० हजार युवाहरूलाई प्रत्यक्ष सहभागी गराएर धुलिखेलमा विश्व युवा महोत्सव गर्न लागेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिए। उनका अनुसार नेपालमा नै पहिलो पटक काभ्रेमा आगामी चैत्र १४ देखि १८ गतेसम्म युवा महोत्सव गर्ने तयारी भएको हो।
महोत्सव काठमाडौँ विश्वविद्यालय परिसरमा हुने उनले बताए। महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत ५० भन्दा बढी गतिविधि हुने प्रमुख गौतमको भनाई छ। उनका अनुसार युवा महोत्सवले नवीनतम विचारहरूको उत्पादनमा जोड दिने छ भने काभ्रे र नेपाललाई विश्वमा परिचित गर्न भूमिका निर्वाह गर्नेछ।
३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त युवा महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवाहरूको सहभागिता हुने उनले बताए। महोत्सवलाई लक्षित गरी २ सयभन्दा बढी विज्ञ रहेको महोत्सव आयोजकले समिति निर्माण गरेको प्रमुख गौतमले बताए।
सरकारको भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरू पुरा गर्न महोत्सव केन्द्रित हुने प्रमुख गौतमको भनाई छ । महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले ५ लाख पुरस्कार राशिको फुटसल प्रतियोगिता आयोजना गरिएको छ । माघ १७ देखि १९ गतेसम्म आयोजना हुने फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालय स्तरीय हुनेछ । खुलातर्फ पहिलो हुने टिमले ५ लाख र विद्यालयतर्फ पहिलो हुने टिमले १ लाख पुरस्कार पाउनेछ।
विभिन्न ८ वटा देशमा सम्पन्न युवा महोत्सवमा सहभागी भएका प्रमुख गौतमले सोही अनुभव र स्थानीयहरूको मागका आधारमा महोत्सव गर्न लागिएको बताए।
महोत्सवका लागि हालसम्म ७५ देशका युवाहरूले अग्रिम शुल्क तिरेर नाम दर्ता गराइसकेका छन्। कार्यक्रम अगावै दर्ता गर्नेलाई ७ हजार ५०० र कार्यक्रम अवधिमा दर्ता गर्नेलाई १० हजार शुल्क तोकिएको छ। महोत्सवमा नेपालका ७५३ वटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ ।