धुलिखेल/यतिखेर काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिको पदमा को आउने भन्नेमा चर्चा चुलिएको छ । उपकुलपतिका आवेदकहरु, केयुका प्राध्यापक तथा कर्मचारीहरु, पत्रकारहरु, केयु केन्द्रिय क्याम्पस बखुण्डोल, धुलिखेललगायत जतततै यही विषयमा चर्चा चलेको छ ।
काठमाडौं विश्वविद्यालयको उप–कुलपति छनौट प्रक्रिया अझै टुङ्गिएको छैन । यस अवधिमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, शिक्षा पत्रकार समाजलगायतले भावी उप–कुलपति को आउनु पर्छ भनेर घुमाउरो तारिकाबाट अन्तक्रिया आयोजना गरिसकेका छन् । चियापसलका चर्चा त हुने नै भए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको कार्यक्रममा धुलिखेल नगर कार्यपालिकाका प्रमुख तथा केयुका सिनेट सदस्य अशोक ब्याञ्जुले केयुमा विकृतिको श्रृंखला भिœयाउन निवर्तमान उपकुलपति प्राडा. भोला थापाको भूमिका महŒवपूर्ण रहेको आरोप लगाए । उनको संकेत आगामी उपकुलपतिमा थापा नदोहरियून भने रहेको छ । यस्तै, संकेत प्रतिनिधि सभा सदस्य गोकूलप्रसाद बाँस्कोटाको पनि थियो ।
उता, शिक्षा पत्रकार समाजले आयोजना गरेको अन्तक्रियामा कार्यवाहक उपकुलपति प्राडा अच्युत वाग्लेले संस्थागत विकास र सुशासनका क्षेत्रमा केही चुनौती भए पनि आफूूले रजिष्ट्रार हुँदा सुशासन कायम गर्न सक्दो भूमिका निर्वाह गरेको दाबी गरे । विगतमा उपकुलपति हुन नसकेका डा. मनप्रसाद वाग्लेले पुरानै शैलीमा संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माकै आलोचनामा समय खर्चिए ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस समितिका संयोजक रहेका शर्मालाई यस पटक बढी नै विवादमा ल्याउन खोजिएको घटनाक्रमहरुले देखाएको छ । तत्कालीन कुलपति डा. बाबुराम भट्टराईको दवाबमा आफुले उपकुलपति छाडेपछि डा. रामकण्ठ माकजुलाई उपकुलपतिमा सिफारिश गर्ने क्रममा ‘केयुलाई सपार्न नसके पनि बिगार्ने काम गर्दैनन्’ भन्ने भावनामा भिœयाएका शर्माको अहिले पनि त्यही मनस्थितिमा रहेका व्यक्तिलाई सिफारिश गर्ने मूडमा रहेको बुझिन्छ ।
संघीय सरकार नेपाली काँग्रेस र नेकपा (एमाले)को गठबन्धनमा बनेसँगै विश्वविद्यालयका उपकुलपति पद पनि भागबण्डामा परेको छ । यसै अनुसार केयु नेपाली काँग्रेसको भागमा परेको छ । विगतदेखि नै नेपाली काँग्रेसका भनेर चिनिएका प्राडा भोला थापा नै यस पटक दोहरिनेमा पक्कापक्की भएपछि उनलाई माओवादी निकट भन्दै विभिन्न प्रचारबाजी थालिएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवं केयुका कुलपति रहेकै अवस्थामा अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख गरेका थिए । सो कलेज काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारीसहित आवश्यक बजेटको पनि व्यवस्था गरिने बताएका थिए ।
केयुले पनौती–५, चौकोट डाँडामा काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयसहत स्कूल अफ आटर््स्मा नयाँको कोर्षका रुपमा ब्याचलर इन योगिक साइन्स एण्ड वेलबिइङ्ग कक्षा सञ्चालन गरिरहेको अवस्थामा तत्कालीन केयुका कुलपतिको इच्छामा यो कलेजको घोषणा भएको थियो । तत्कालीन केयुका कुलपतिले नै ल्याएका यस कलेजबारेको तथ्यलाई तोडमतोड गर्दै एक समूहले भोला सरलाई ‘माओवादी भए’ भनेर हल्ला चलाएको चौकोटमा कार्यरत एक मेडिकल कर्मचारीले दाबी गरे ।
बाहिरफेर जेजस्तो हल्ला चलाइए पनि केयुलाई आफ्नो कार्यकालमा राम्रो बनाउन थापाले हरसम्भव प्रयास गरेका जगजाहेर छ । तर, केयुबाट अवकाश भएपछि पनि उपकुलपतिमाथि दवाब र प्रभाव पारेर केयुमा पुनः जागीर खान सफल भएकाहरु यतिखेर निवर्तमान उपकुलपति थापा विरुद्ध जाइलागेका बताइन्छ ।
केयुका शिक्षाविद् अनन्तगोपाल रिसालले फेसबुकमा लेखेका छन्, ‘विश्वविद्यालय जस्तो सार्वजनिक सरस्वती मन्दिरको राजस्व लिनु, सुविधा र सम्मान लिएर जागीर खाएर पुनः त्यही कर्मक्षेत्रलाई धुमिल्याएर आफ्ना स्वार्थका लागि माछा मार्ने केही तथाकथित विज्ञ भनाऊँदाहरूको छिट्टै नै लाजमर्दाे तरिकाले भण्डाफोर हुँदैछ । विश्वविद्यालयका विभिन्न संकायका केही सदस्यहरूमा स्वामित्व, जवाफदेहिता र कठिनाइको अभाव स्पष्ट देखिन्छ । तिनीहरूका गतिविधिहरूको राम्रोसँग मूल्याङ्कन गर्न सकियो भने र सस्तो लोकप्रियताको होडवाजीको वास्तविक मूल्याङ्कन हुन सक्यो भने वहुसंख्यक प्राध्यापकहरूलाई विज्ञ समाजले हेर्ने दृष्टिकोणमा सम्मान मिल्ने थियो र धेर भन्दा धेरै विद्यार्थी, प्राध्यापनक्षेत्रमा लागेका शिक्षकको शिर ऊँचो रहने थियो ।’
केयुले गरेका उदाहरणीय काम र समुदायलाई पु¥याएको सहयोगबारेमा बेलैमा श्वेतपत्र जारी गर्नु पर्ने केयुका कर्मचारीहरु पनि आफ्नो दायिŒवबाट बिमुख हुँदै यतिखेर सबै दोष निवर्तमान उपकुलपतिलाई मात्रै थोपर्न उद्दत् छन् । काम गर्ने सवालमा निवर्तमान उपकुलपतिको चार वर्षे कार्यकालमा केही कमजोरी नभएका पक्कै होइनन् होला तर एउटै पनि काम गरेनन् भन्ने भाष्य स्थापना गर्न खोजिएको छ । उपकुलपतिलगायत रजिष्ट्रार, डीन, विभागीय प्रमुखका साथै महाशाखाका प्रमुखहरुले समेत केयुको ऐन–नियम, विनियम तथा कार्यविधिमा तोकिएको ‘टिओआर’ अनुसार आ–आफ्नो कर्तव्य निर्वाह गरे या गरेनन् भन्नेमा खोजी गरिनु पर्ने आवाज उठ्न थालेको छ ।
यसैवीच, काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस समितिले दुई पटक आह्वान गरेको सूचना अनुसार २० जनाको दरखास्त परेकोमा ‘सर्टलिष्ट’ गरी १० जनाको नामावली सार्वजनिक गरेको छ । जसमा एकजनाबाहेक सबै जना केयुकै रहेका छन् । यतिखेर मेडिकल विधाका प्राध्यापकहरुलाई समेत प्रतिस्पर्धामा समेटिएको छ ।
बहालवाला रजिष्ट्रार प्राडा अच्युत वाग्ले, प्राडा कन्हैया झा, डीन प्राडा जनार्दन लामिछाने, डीन प्राडा बालचन्द्र लुइँटेल, प्राडा विभूतिरञ्जन झा, प्राडा वेदमणी दाहाल, निर्वतमान उपकुलपति प्राडा भोला थापा, पूर्व डीन प्राडा राजेन्द्रप्रसाद कोजु, प्राडा श्याम नारायण लाभ र पूर्व रजिष्ट्रार प्राडा सुबोध शर्मा रहेका छन् । प्राडा लाभ भने त्रिविका हुन् । ‘सर्टलिष्ट’ सबै दरखास्तवालाहरुले फागुन ६ र ७ गते सोचपत्र र रणनीतिक कार्ययोजनाको प्रस्तुतिकरण गर्नेछन् र अन्तर्वार्तामा सहभागी हुनेछन् । त्यसपछि १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्ने छ ।
यस प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने माग पनि उठेको छ । केयुका शिक्षाविद् अनन्तगोपाल रिसाल फेसबुकमा लेख्छन्, ‘काठमाण्डौं विश्वविद्यालयको उपकुलपतिको नियुक्तिमा अझ पूर्ण पारदर्शिता, प्राज्ञिक प्रस्तुति र व्यवस्थापन क्षमता चाहने हो भने र अझ राजनैतिक हावी कम गराऊने हो भने–अन्तिम ३ जना उमेदवारको सोचपत्र र रणनीतिक कार्ययोजना प्रस्तुतिकरणको ‘फूटेज’ नै केयु र आम नागरिकले हेर्न पाउने सुविधा सार्वजनिक गरे कति उत्कृष्ट हुने थियो होला??’