धुलिखेल /बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्न चासो देखाएता पनि अनिर्णीत बनेको छ । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानी सहयोग नियोग (जाइका) सँग मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल रहेको थियो । यसअघि जाइकासँग सोमबार छलफल हुने भनिएको थियो । तर प्राविधिक कारणवश मंगलबार छलफल भएको हो । मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका कर्मचारी, जाइकाको टोली र सडक विभागका महानिर्देशकको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलमा जाइकाको टोली बाट ठोस निर्णय आउन नसकेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । ‘छलफलमा हाम्रो कुरा राख्यौँ, जाइकाले के–के गर्न सक्छ भनेर । उसले अझै फाइनल भइसकेको छैन हाम्रो माथिल्लो लेबलमा कुरा गर्छौँ भनेको छ ,’ महानिर्देशक पोखरेलले भने, ‘खासै त्यस्तो कङि्क्रट कुरा केही पनि आएको छैन । हाम्रो प्रोसेस सुरु गर्छौँ । नत्र एउटा सानो खण्ड छोड्दिने हाम्रो काम गर्छौँ । यो महिनाभरिमा ठेक्का आह्वान हुन्छ ।’
ओमनको मस्कट पुगेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले फागुन ५ गते जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग शिष्टाचार भेट गर्दै बिपी राजमार्ग पुनर्निर्माणका लागि आग्रह गरेकी थिइन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा बीपी राजमार्ग पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए । गत असोजको दोस्रो साता आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्डमा ३५ किलोमिटर सडकमा क्षति पुगेको छ । यसमध्ये ८.७ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ । यो खण्ड पूर्ण रूपमा नदीले कटान गरेको हुनाले तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था छैन । यो सडक निर्माणका लागि दुई वर्ष लाग्ने सरकारको प्रारम्भिक अध्ययनले देखाएको छ ।
तत्कालका लागि सरकारले पहिलो चरणको अस्थायी ट्रयाक निर्माण गरेर असोज अन्तिमदेखि नै सञ्चालनमा ल्याएको थियो । कतै खोलाको बगरबाट कतै खोलाभित्र हुँदै तर उक्त सडकमा यातायात सञ्चालनमा आएको छ । यो सडकमा वर्षायाममा भने यातायात सञ्चालन गर्न नसकिने भएपछि सरकारले दोस्रो चरणको पुननिर्माण अघि बढाएको छ भने त्यसका लागि स्रोतको सुनिश्चितता गरिसकेको छ । असोजको बाढी–पहिराले क्षति पुर्याएको बीपी राजमार्गको खण्ड मर्मतका लागि सरकारले पटक–पटक जापान सरकारसँग अनुरोध गरेको थियो ।