सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको पनि बताए।
अध्यक्ष दाहालले आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह गरे।
‘मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको छ,’ उलने भने, मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिन्छ।’
संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष दाहालले स्पष्ट गर ।
अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए।