नमोबुद्धमा चाडपर्व लक्षित बजार अनुगमन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • १४८ पटक पढिएको

नमोबुद्धमा चाडपर्व लक्षित बजार अनुगमन

काभ्रे – नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर काभ्रेको नमोबुद्ध नगरपालिकाले बजार अनुगमन कार्य सुरु गरेको छ । बुबाको मुख हेर्ने दिन, तीज, दसैँ,तिहार,छठ जस्ता महान पर्वलाई लक्षित गरी नमोबुद्ध नगरपालिकाले बजार अनुगमन समितिका संयोजक एवं नमोबुद्ध नगरपालिकाका उप–प्रमुख रत्न बहादुर लामाको नेत्तृत्वमा सोमबारबाट बजार अनुगमन थालेको हो ।
चाँडपर्वको समयमा व्यापारी तथा व्यवसायीहरुले कालो बजारी गर्ने र त्यसको नियन्त्रणका लागि बजार अनुगमन कार्य सुरु गरिएको बजार अनुगमन समितिका संयोजक एवं नमोबुद्ध नगरपालिकाका उप–प्रमुख रत्न बहादुर लामाले जानकारी दिए । उनका अनुसार, नमोबुद्ध नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७५ बमोजिम अनुगमनलाई प्राथमिकतामा राखी नगरपालिकाले अनुगमन गरिरहेको छ ।
सोमबार नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रका २ वटा खाद्यन्न, १० वटा होटल, ३ वटा मिठाई पसलको अनु्गमन गरेको थियो । नमोबुद्ध नगरपालिकाको बजार अनुगमन निर्देशिका अनुसार मूल्य सूचि, साइनबोर्ड, व्यवसाय दर्ता÷ नविकरण, नापतौल प्रमाण, म्याद नाघेका सामाग्री, खरिद बिल भए÷नभएको लगायतका विभिन्न सूचकका आधारमा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले बजार क्षेत्रका पसल तथा होटलहरुको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा अधिकांश पसल तथा होटलमा मूल्य सूचि फरक भएको, म्याद नाघेका सामाग्री, व्यवसाय दर्ता÷ नविकरण नभएको पाइएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार, ती पसल तथा होटलहरुलाई व्यवस्थित बनाउनका लागि अनुरोध गरिएको छ । बजार अनुगमनलाई निरन्तरता दिइने र अर्को पटकको अनुगमनमा पनि सोही समस्या भेटिएमा कानुन बमोजिम कारवाही गरिने उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस