पाँचखाल नगरपालिकाद्वारा मनसुनका ‘जोखिम परिवार’लाई राहत

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (१ हप्ता अघि)
  • १६४ पटक पढिएको

पाँचखाल नगरपालिकाद्वारा मनसुनका ‘जोखिम परिवार’लाई राहत

काभ्रेको पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ।

नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

नगरले बस्नै नहुनेगरी क्षति पुगेका परिवारलाई ५० हजार तथा मर्मतसम्भार तथा संरक्षण गर्नुपर्ने घरका लागि प्रतिपरिवार रु १५ हजार राहत उपलब्ध गराउने भएको जनाइएको छ। नगरप्रमुख महेश खरेलले प्रत्येक वडाबाट हालसम्मको क्षतिको विवरण मागिएको बताए।

‘क्षतिको विवरणका आधारमा राहत प्रदान गर्दै जानेछौं,’ उनले भने। उनका अनुसार पहिलो प्राथमिकता बसोबास गर्दै आएको घरमा भएको क्षतिलाई दिइनेछ।

यस्तै बसोबास गर्दै गरेको जोखिममा परेको घरका संरक्षणलाई दोस्रो प्राथमिकता दिइने छ भने खानेपानीको मुहान, ट्यांकी तथा पाइप लाइन अवरोध भएकाको लागि तत्काल आर्थिक सहयोग व्यवस्थापन गर्ने जनाइएको छ। प्रारम्भिक अनुगमनमा नगरको ८, ११ र १३ नं वडामा अविरल वर्षाले धेरै क्षति पुर्याएको पाइएको छ।

नगरको अन्य वडाको क्षतिबारे विवरण आएपछि राहत रकम वितरण गरिने खरेलले बताए। ‘हाल त्रिपाल तथा पलाष्टिक दिने काम सुरु गरेका छौँ थप राहत सामग्रीको व्यवस्थापनमा लागेका छौं,’ उनले भने।

मनसुनको लगातार वर्षाले पाँचखालका विभिन्न कृषि ग्रामीण सडक अवरुद्ध हुँदा दूध तथा तरकारी ढुवानीमा समस्या हुँदै आएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस