धुलिखेलस्थित पतञ्जलि आयुर्वेद कलेजमा विद्यार्थीले गरे तालाबन्दी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ८८ पटक पढिएको

धुलिखेलस्थित पतञ्जलि आयुर्वेद कलेजमा विद्यार्थीले गरे तालाबन्दी

धुलिखेलमा रहेको पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका विद्यार्थीले आन्दोलनमा उत्रिएका छन्।

इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थीले कलेज र सम्बन्धित अस्पतालमा तालाबन्दी गरेर आन्दोलन थालेका छन्।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ साथै परिषदद्वारा दर्ता आयुर्वेद क्याम्पस कीर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आए पनि पतञ्जलि कलेजले भने भत्ता नदिएपछि विद्यार्थीले आन्दोलन थालेका हुन्।

आन्दोलनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रशासनलाई २ माघ २०८० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको परिपत्रको स्मरण पनि गराएका छन्।

मन्त्रालयले आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधा (निर्वाह भत्ता) मा विविधता देखिएको भन्दै सबै शिक्षण संस्थाहरूमा सो सेवा सुविधाहरू न्यूनतम सरकारी सरह कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न भनेको थियो।

मन्त्रालयको निर्णय मान्न तथा संस्कृत विश्वविद्यालयअन्तर्गतकै अन्य क्याम्पसले इन्टर्न डाक्टरलाई दिइरहेको सेवा सुविधा उपलब्ध गराउन पतञ्जलिले आनाकानी गरेको आन्दोलनरत विद्यार्थीले बताएका छन्।

यसै प्रावधानअनुसार, आयुर्वेद क्याम्पस कीर्तिपुर, दाङको संस्कृत विश्वविद्यालयले इन्टर्नसिप अवधिभर मासिक २४ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता प्राप्त गर्दै आए पनि पतञ्जलि आयुर्वेद मेडिकल कलेजले यो निर्णय कार्यान्वयन गरेको छैन । बरु आफूहरूलाई विभिन्न बहाना गर्दै टार्ने र झुलाउने काम गरिरहेको विद्यार्थीले बताए ।

विद्यार्थीहरूले कलेजको प्रमुख कार्यालय पतञ्जलि योगपिठ मण्डीखाटारलाई पनि पत्र लेखेर ध्यानाकर्षण गराएका थिए।

त्यहाँबाट समेत जवाफ नआएपछि १७ गतेदेखि क्याम्पस र अस्पतालमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरूले बताएका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस