काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले सहकारीका गतिविधिहरु सञ्चालन र सहकारी प्रवद्र्धन गर्न आफ्ना क्रियाकलापहरुलाई व्यवस्थित रुपले अगाडि बढाउन रणनीतिक योजना तर्जुमा गोष्ठि नगरकोटमा सम्पन्न गरेको छ । संघले चार वर्षे रणनैतिक योजना निर्माण गर्न नगरकोटामा २ दिने रणनीतिक योजना तर्जुमा गोष्ठि आयोजना गरेको हो। गोष्ठी पुस १४ र १५ गते भएको थियो।
गोष्ठीमा जिल्ला सहकारी संघ काभ्रेका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु र कर्मचारीहरुको उपस्थिति थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व र संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र कार्यक्रम गर्दै औपचारिक रुपमा कार्यक्रम शुभारम्भ भएको थियो।
गोष्ठीमा संघ अबको चार वर्षमा के कसरी अगाडि बढ्नु पर्ने र कस्तो मार्गचित्र तयार पार्नुपर्ने भन्ने विषयमा छलफल भएको थियो।
यस्तै, गोष्ठीमा जिल्ला सकहारी अभियानको विकास, विस्तार र प्रवर्धनसँगै हालको सहकारी समस्या र त्यसको निराकरणको लागी संघको के कस्तो भुमिका रहन सक्छ भन्ने विषयमा छलफल गर्दै संघको परिकल्पना, उद्देश्य, लक्ष्यसहित योजना निर्माण गर्दै संघले गर्ने कार्यदिशा तय गरेको जिल्ला सहकारी संघको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले जानकारी दिए।
गोष्ठीमा सहकारी क्षेत्रमा लामो समय निरन्तर कार्यरत सहकारी विज्ञ कुवेर निरौलाले सहजकर्ताको रुपमा रही सहजिकरणगरेका थिए।
संघले अबको नेतृत्वले ४ वर्षमा जिल्ला सहकारी संघहरूमा उत्कृष्टता हासिल गर्ने प्रतिबद्धतासहितका योजनाहरू अघि सारेको छ।