बैतडी । बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन्।
१४ बर्षको उमेरमा बाल बिवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन्। उनका श्रीमान १८ वर्षका छन्।
पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन् । तर आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ।
काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रसादसापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैया सहयोग गरेका छन्।
संगम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन्।
पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।