सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौतीको ३१औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ।
उत्कृष्ट सहकारी संस्थाहरु मध्ये एक सामूदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना तथा एकीकरण दिवस मनाएको हो। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष मुकुन्द शर्मा वाग्लेको अध्यक्षतामा स्थापना दिवस समारोह सम्पन्न भएको थियो।
स्थापना दिवसको अवसरमा संस्थाले वृहत रक्तदान, जेष्ठ सदस्य सम्मान गर्नुका साथै सदस्यहरुका लागि निःशुल्क रगत पाउने गरी नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखासँग सम्झौतासमेत गरेको छ । रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेका थिए भने ३५ जना जेष्ठ नागरिकलाई स्म्मान गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि।, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि।, जिल्ला सहकारी संघ लि। काभ्रे, नेपाल रेडक्रस सोसाईटी, पत्रकार महासंघ, काभ्रेपलाञ्चोकको नवनिर्वाचित अध्यक्ष लगायत सञ्चालक समितिहरुलाई कार्यकाल सफलतको शुभकामना सहित सम्मान गरिएको थियो।
यस्तै सामुदायिक विद्यालय तथा निजि विद्यालयतर्फ आवेदन प्राप्त भएका मध्ये उत्कृष्ट अंक हासिल गर्ने संस्थाका सदस्य तथा परिवार मध्येबाट छात्र तथा छात्रा गरी ४ जनालाई उत्कृष्ट एस।ई।ई। सम्मान, ३ जनालाई सामुदायिक छात्रवृत्ती, ८० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ सदस्यहरुको सम्मान, साथै संस्थाका उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बचतकर्ता सदस्यहरु र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीको रुपमा युवाज्योती सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधी सुजना तामाङ र उत्कृष्ट सेवा केन्द्रको रुपमा कुन्तावेशी सेवाकेन्द्रलाई पुरस्कृत गरिएको छ ।कार्यक्रममा जेष्ठ सदस्यसहित कुल ९३ जना सम्मानित भए।
सामूदायिक साकोस २०५१ साल माघ १४ गते साविक टौखाल गाविसमा स्थापना भएको हो । सुरुमा २ वटा वडालाई कार्यक्षेत्र बनाउँदै ३२ हजार ५ सय रुपैया शेयर रकम संकलन गरी ४१ जना शेयर सदस्यहरु संलग्न भएको सामुदायिक सहकारीले हालसम्म १७ वटा संस्थासँग एकीकरण गरेको छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै हाल ६ अर्ब २४ करोड बराबरको कारोबार भएको बताए।
संस्थाले समयसापेक्ष प्रविधिमैत्री सेवा अन्तर्गत सामुदायिक स्मार्ट बैंकिङ, सेवा, एटिएम, क्यू आर पेमेन्ट साथै कनेक्ट आइपिएसमार्फत रकम ट्रान्सफर लगायतका सेवाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै आएको जानकारी गराउँदै बस्नेतले सदस्यमैत्री सेवाहरु अन्तर्गत जन्मदेखि मृत्यूसम्मका सुत्केरी भेटघाट, सदस्य स्वास्थ्य राहत, घातक रोग उपाचार राहतदेखि सदस्य तथा पारिवारिक समवेदना राहत समेतको राहतका कार्यक्रम, सम्मान तथा पुरस्कार लगायत सामाजिक कार्यहरु समेत सञ्चालन गरिरहेको यस संस्था १८ वटा सहकारी संस्थाहरु एकीकरण भई यस अवस्थामा आइपुगेको जानकारी वस्नेतले दिए।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारी, पनौती नगरपालिका वडा नंं ४ का अध्यक्ष दिपक प्रसाद दाहाल, त्यस्तै बागमती प्रदेश सहकारी संघ लिका सचिव देवराज न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, नेपाल रेडक्रस सोसाईटी काभ्रेका उप सभापति ज्ञान बहादुर लामा, संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बन्जारा लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम संस्थाका सचिव सरोजकुमार तिमल्सिनाले सञ्चालन गरेका थिए । कार्यक्रमकै अवसरमा सामूदायिक साकोसको इबुलेटिन सार्वजनिक गरिएको थियो । संस्थाले ३१ औं स्थापना तथा एकीकरण दिवसको अवसरमा १९ वटै कार्यालयमा द्विप प्रज्वलन गरेको थियो भने पनौती सेवाकेन्द्रले पनौतीको ईन्द्रेश्वर मन्दिर प्रांगणमा सरसफाई गरी द्विप प्रज्वलन गरेको थियो ।