बेथानचोकमा क्याप्टेन थापालाई सम्मान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ २८, सोमबार (३ हप्ता अघि)
  • २६८ पटक पढिएको

बेथानचोकमा क्याप्टेन थापालाई सम्मान

बेथानचोक/महाभारत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा अतुलनीय योगदान पु¥याएको भन्दै बेथानचोक गाउँपालिकाले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई सम्मान गरेको छ ।

सोमबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबीच उहाँलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।
उहाँले बेथानचोक गाउँपालिकाको बस्ती नजिकको ज्वानोथुम्की, रमितेडाँडा, खानेपानीको मुहान क्षेत्र महाभारत लेकमा लागेको भीषण डढेलो नियन्त्रणका लागि हेलिकप्टर उपलब्ध गराउँदै प्राकृतिक विपत्ति न्यूनीकरणमा विशेष सहयोग पु¥याएकोप्रति आभारी रहँदै सम्मान गरिएको जानकारी दिनुभयो ।

“यस क्षेत्रका नागरिकहरूको जीवन सुरक्षित गर्नुका साथै महाभारत क्षेत्रको वन पैदावर, अमुल्य जडिबुटी, दुर्लभ वन्यजन्तु लगायतका प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा क्याप्टेन थापाको सहयोग प्रशंसनीय छ” अध्यक्ष अधिकारीको भनाई छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथिसमेत रहनु भएका क्याप्टेन थापाले महाभारत रेन्जको वन सम्पदा मानव सभ्यतासँगसमेत जोडिएको हुँदा यसको संरक्षण सबैको साझा दायित्व रहेको बताउनु भयो ।
विगतमा मुलुकको राजनीतिक स्थायित्वका साथै द्वन्द्व न्यूनिकरणमा आफूले कार्य गरेको स्मरण गर्दै अब मुलुक विकासका चरणमा प्रवेश गरेकोले यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
क्याप्टेन थापाको पहलमा माघ महिनाको दोस्रो साता महाभारत वन श्रृङ्खलाको बेथानचोक गाउँपालिकामा बस्ती आसपास क्षेत्रमा पर्ने वन डढेलो नियन्त्रणमा हेलिकप्टरबाट आगो नियन्त्रण गरिएको थियो । आगलागिका कारण बेथानचोक गाउँपालिकाको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ को वन जोखिममा रहेको र गाउँपालिकाका ५ वटा सामुदायिक वनको झण्डै १ सय हेक्टर वन आगलागीले नष्ट भएको थियो । थामलेकको चिसापानी सामुदायिक वन, मूलडाडा चोरण्डे सामुदायिक वन, जनजागृती सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वनमा आगलागीबाट क्षति पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस