बनेपा । काभ्रेपलाञ्चोक, काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा बनेपा नगरपलिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य एवं संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ लि.को अध्यक्ष तथा बागमती प्रोस्कूनको कोषाध्यक्ष प्रदिप थापाको आतिथ्यतामा संस्थाका विभिन्न समिति, उपसमिति, पूर्व समिति उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमिति, कर्मचारी एवं सदस्यहरुको उपस्थितिमा सू–सम्पन्न भएको कार्यक्रममा संस्थामा आवद्ध भई संस्थाको नीति बमोजिम नियमित ऋण कारोबार गर्ने ०८०।०८१ को आधारमा थप ५१ जना सदस्यलाई असल ऋणी सदस्य सहुलियत परिचयपत्र वितरण, ६ जना सदस्यका छोराछोरीलाई दलित छात्रवृत्ति, उत्कृष्ट सेवा कार्यालय पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार लगायत संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतानलाई दीर्ध सेवा पदकबाट सम्मान गरेको छ ।
यस्तैगरी आर्थिक बर्ष २०८०र८१ को उत्कृष्ट कर्मचारीहरु र उत्कृष्ट कार्यालयलाई नगद सहित सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीमा तेस्रो तहदेखी पाँचौं तह तर्फ बनेपा सेवा कार्यालयका ऋण सहायक जयराम मानन्धर, छैटौं तहदेखि आठौं तह तर्फ भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठ पुरस्कृत हुनु भएकोछ भने पनौती सेवा कार्यालय उत्कृष्ट कार्यालय बन्न सफल भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पछिल्लो समय सहकारी संस्थाप्रति घद्दै गरेको अवस्थामा बिन्धवासिनी साकोसले संस्थाको छवि र पहिचानलाई थप उचाई पुराएको बताए।
संस्थाको ३२औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले सहकारी क्षेत्रमा देखिएको चुनौतीहरुको सामना गर्दै बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले थुप्रै उपलब्धी हाँसिल गर्न सफलताको शुभकामना ब्यक्त गरे।
समूहगत र क्षेत्रगत अवधारणामा संचालित बिन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै ६९ हजार भन्दा वढी सेवाग्राहीलाई सेवा प्रदान गरी कुल कारोबार ५ अर्व १६ करोड पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केवी लामा स्याङतानले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिरपरिचित हुन सफल यस संस्थाले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, वागमती प्रदेश उत्कृष्ट सहकारी संस्था पुरस्कार, बागमती प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार का साथै अन्तर्राष्ट्रिय स्तरमा एशियाली ऋण महासंघबाट पहिलो पटक क्यूमी पर्फमेन्स अवार्ड, सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, जिल्ला सहकारी संघ लि. काभ्रेबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, पनौती नगरपालिकाबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, बागमती प्रास्कूनबाट उत्कृष्ट व्यवस्थापक पुस्कार प्राप्त गरिसकेको प्रमुख कार्यकारी अधिकृतले लामाले बताए।
संस्थाले स्थापना दिवसको पूर्वाधमा आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता, सदस्य विस्तारित भेला तथा विभिन्न सामुदायिक कार्यहरु समेत सम्पन्न गरिसकेकोछ भने आगामी दिनमा जेष्ठ सदस्य तिर्थयात्रा, समिति उपसमिति क्षमता विकास तालिम एवं अध्ययन अवलोकन भ्रमण, शैक्षिक बाल बचत कर्तालाई अध्ययन अवलोकन भ्रमण, युवा भेला लगायत शिक्षा तथा सिपमुलक तालिम संचालन गर्न लागेको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।
ग्रामिण क्षेत्रका जनताहरुलाई सर्व सुलभ सहकारी सेवा दिई नेपालकै नमुना सहकारी संस्थाको रुपमा चिनिएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो।