
बासडोल/ बासडोलका युवाहरूले बासडोलको मुहार फेर्ने लक्ष्यका साथ हरेक शनिबार आयोजना गर्दै आएको बृहत सरसफाई अभियान आज पनि सफलतापूर्वक सम्पन्न भएको छ।
युवाहरूले आज शनिबारको दिनलाई सदुपयोग गर्दै देउरालीदेखि गोडडाँडासम्मको बाटो सरसफाई गरेका छन्। उनीहरूले सडकमा जमेको फोहोर मैला हटाई क्षेत्रलाई सफा र सुन्दर बनाउने प्रयास गरेका छन्।

यस अभियानमार्फत बासडोलवासी युवाहरूले स्थानीय वातावरण स्वच्छ राख्ने र समुदायको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्य लिएका छन्। हरेक साता नियमित रूपमा सञ्चालन हुँदै आएको यस सरसफाई कार्यक्रमले बासडोलको मुहार क्रमशः परिवर्तन हुँदै गएको स्थानीयवासीको भनाइ छ।
युवाहरूले आगामी दिनमा पनि यस्तै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।