काभ्रेपलाञ्चोक कफी उत्पादनमा मुलुककै अग्रणी, स्थानीय तहको प्रोत्साहनले विस्तार तीव्र

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन १९, सोमबार (१ महिना अघि)
  • १२२ पटक पढिएको

काभ्रेपलाञ्चोक कफी उत्पादनमा मुलुककै अग्रणी, स्थानीय तहको प्रोत्साहनले विस्तार तीव्र

काभ्रे । नेपालको मध्यपहाडी क्षेत्रमा अरेबिका जातको कफी खेती व्यावसायिक रूपमा फैलँदै गएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तथ्यांकअनुसार हाल देशभर ५ हजार ५०१.०५ हेक्टरमा कफी खेती हुन्छ भने प्रशोधनपछिको ग्रीन बिन उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ। यो खेती ४३ भन्दा बढी पहाडी जिल्लामा विस्तार भइसकेको छ।

काभ्रेपलाञ्चोक जिल्ला क्षेत्रफल र उत्पादन दुवैमा अग्रस्थानमा छ। यहाँ ४९७ हेक्टरमा खेती हुन्छ र ग्रीन बिन उत्पादन १२१ मेट्रिक टन छ। जिल्लाको महाभारत गाउँपालिकाका सबै वडामा कफी फैलिएको छ। गाउँपालिकाका अनुसार वार्षिक २१९.८३ मेट्रिक टन कफी चेरी उत्पादन हुन्छ।

महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म पाँच लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको बिरुवा वितरण गरेको छ। ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ अभियानअन्तर्गत सहकारीमार्फत जीवित बोट गनेर प्रतिबोट २० रुपैयाँ प्रोत्साहन दिने व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यसले नयाँ बिरुवा रोप्ने र पुराना बगैंचा जोगाउने किसानलाई प्रोत्साहित गरेको बताए।

स्थानीय किसान शङ्खलाल थोकरले १९ रोपनीमा वार्षिक दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने गरेका छन्। अर्का किसान कृष्णबहादुर मोक्तानले ५०० किलोग्राम उत्पादन गर्दै उत्पादन, प्रशोधन र बजार सुनिश्चितता अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

खानीखोला गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई अनुदान’ नीति अवलम्बन गर्दै उत्पादनका आधारमा प्रोत्साहन दिएको छ। १० लाख रुपैयाँ बराबरका बिरुवा वितरणसँगै आठ किसान समूहलाई पल्भर मेसिन उपलब्ध गराइएको छ। पछिल्लो समय ८१ मेट्रिक टन कफी चेरी सङ्कलन भएको र प्रतिकिलो ३५ रुपैयाँ उत्पादन प्रोत्साहन दिइएको कृषि शाखाले जनाएको छ।

केन्द्रीय कफी उत्पादक सहकारी सङ्घका सदस्य तुलसीराम धितालले उचित मूल्य, नियमित बजार र प्रविधि पहुँच बढाउन सहकारीलाई बलियो बनाउने, सङ्कलन केन्द्र र प्रशोधन मेसिन विस्तार गर्ने तथा जैविक प्रमाणीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।

पछिल्ला वर्षमा कफी क्षेत्र विस्तार भएको छ। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टरमा ४६३.५८ मेट्रिक टन उत्पादन भएकोमा २०८१/८२ मा क्षेत्रफल ५ हजार ५०१.०५ हेक्टर र उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ। एक वर्षमै क्षेत्रफल एक हजार १९२ हेक्टर र उत्पादन १४०.६ मेट्रिक टनले बढेको हो।

प्रदेशगत रूपमा बागमतीमा १ हजार ५७८ हेक्टरमा २९२.४५ मेट्रिक टन, गण्डकीमा १ हजार ४५१ हेक्टरमा १५६ मेट्रिक टन, कोशीमा १ हजार ७३४.९५ हेक्टरमा १२८.५५ मेट्रिक टन उत्पादन भएको छ। जिल्लागत रूपमा काभ्रेपछि नुवाकोट ९०.५०, इलाम ८३, स्याङ्जा र लमजुङ ३३–३३ मेट्रिक टन ग्रीन बिन उत्पादनमा अगाडि छन्।

आर्थिक वर्ष २०८१/८२ मा करिब ६३ हजार ९९७.५५ किलोग्राम कफी निर्यात भएको छ, जसको मूल्य १ करोड १४ लाख ३६ हजार ९७२ रुपैयाँ छ। जर्मनी प्रमुख बजार हो (२७ हजार ९८१.७ किलोग्राम, करिब ४७ प्रतिशत हिस्सा)। जापान, बेलायत, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र इटालीलगायत २२ भन्दा बढी मुलुकमा निर्यात भएको छ।

आन्तरिक माग पूरा गर्न भने अझै आयात आवश्यक छ। २०८१/८२ मा २०३.३ मेट्रिक टन आयात भएको छ (मूल्य १४ करोड ४१ लाख रुपैयाँ)। मूल्यमा सुधार आएको छ—ताजा चेरी ‘ए’ ग्रेड १०५ र ‘बी’ ९५ रुपैयाँ, पार्चमेन्ट ‘ए’ ५३५ र ‘बी’ ४८२ रुपैयाँ तोकिएको छ। ड्राइ चेरी ‘ए’ ग्रेड २०७७ मा १४८ बाट बढेर २८० रुपैयाँ पुगेको छ।

स्थानीय तहका प्रोत्साहन कार्यक्रम, सहकारीको भूमिका र बजार पहुँचलाई एकीकृत गर्न सके कफी खेती पहाडी किसानका लागि दीर्घकालीन आम्दानी र रोजगारीको भरपर्दो स्रोत बन्न सक्ने विज्ञहरू बताउँछन्। काभ्रेको अनुभव अन्य जिल्लाका लागि पनि सिकाइको आधार बन्न सक्छ।

ताजा अपडेट

खोजी गर्नुहोस