
धुलिखेल /जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आगलागीबाट हुनसक्ने जनधनको क्षति कम गर्ने उद्देश्यले व्यवहारिक अभ्यास कार्यक्रम आयोजना गरेको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रममा आगलागीबाट उत्पन्न हुनसक्ने विपद्, त्यसबाट बच्ने उपाय र जोखिमका बेला अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक अभ्यास तथा प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सक्रिय सहभागिता जनाएको थियो। सहभागीहरूलाई आगलागी रोक्न अपनाउनुपर्ने सतर्कता, आगलागी भइसकेपछि क्षति घटाउन चाल्नुपर्ने कदम, उद्धारका तरिका तथा आफू र अरूलाई सुरक्षित राख्ने उपायबारे जानकारी दिइएको थियो।
आगलागी अचानक हुने घटना भएकाले विपद्का बेला आत्तिनुभन्दा सावधानीपूर्वक सुरक्षित स्थानमा जानु, जोखिममा परेका व्यक्तिको उद्धार गर्दा आवश्यक सतर्कता अपनाउनु र सम्बन्धित निकायलाई तत्काल जानकारी दिनु महत्वपूर्ण हुने कुरामा जोड दिइएको थियो। यस्ता अभ्यासले पूर्वतयारी र व्यवहारिक सीप विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यस्ता सचेतनामूलक तथा व्यवहारिक कार्यक्रमले सम्भावित दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सरकारी निकायको तयारीसँगै नागरिकको सचेतना र जिम्मेवार व्यवहार उत्तिकै आवश्यक भएकाले यस्ता कार्यक्रम समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।