भक्तपुरमा विकी लभ्स मोनुमेन्ट्स २०२६ को विशेष फोटोवाक हुँदै

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन २३, शुक्रबार (१ महिना अघि)
  • १६१ पटक पढिएको

भक्तपुरमा विकी लभ्स मोनुमेन्ट्स २०२६ को विशेष फोटोवाक हुँदै

काठमाडौं। नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई तस्बिरमार्फत डिजिटल रूपमा अभिलेख गर्ने उद्देश्यले सञ्चालित ‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ अन्तर्गत अक्टोबर १० मा भक्तपुरमा विशेष फोटोवाक आयोजना हुने भएको छ।

‘वाक थ्रु हिस्ट्री: ए फोटोवाक अफ मोनुमेन्ट्स एण्ड हेरिटेज’ नारासहितको यो कार्यक्रम बिहान ८ बजे भक्तपुर दरबार क्षेत्रको लुन ध्वाखा (गोल्डेन गेट) बाट सुरु हुनेछ। सहभागीहरूले भक्तपुरका मन्दिर, मूर्ति, वास्तुकला, स्थानीय संस्कृति र जीवन्त परम्परालाई क्यामेरामा कैद गर्दै सम्पदा अभिलेखीकरणमा योगदान पुर्‍याउनेछन्।

फोटोग्राफर मात्र नभई विद्यार्थी, युवा, पर्यटक, सम्पदा प्रेमी, विकिमिडियन तथा फोटोग्राफीमा रुचि राख्ने जो कोही यसमा सहभागी हुन सक्नेछन्। कार्यक्रम विकिमिडियन्स अफ नेपालले आयोजना गरेको हो। युनेस्को रणनीतिक साझेदार, युथ हेरिटेज सोसाइटी सामुदायिक साझेदार र रोटरी क्लब अफ काठमाडौं हाइट साक्षरता साझेदारका रूपमा रहेका छन्।

विकी लभ्स मोनुमेन्ट्स विश्वव्यापी सार्वजनिक फोटोग्राफी प्रतियोगिता हो। यसको सुरुआत सन् २०१० मा नेदरल्यान्ड्सबाट भएको थियो भने सन् २०१२ देखि विभिन्न देशमा वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ। यसको मुख्य उद्देश्य नागरिक र फोटोग्राफरलाई आफ्ना आसपासका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको तस्बिर खिच्न प्रोत्साहित गर्नु र ती तस्बिर खुला लाइसेन्ससहित विकिमिडिया कमन्समा उपलब्ध गराउनु हो।

नेपालमा यसअघि सन् २०१३ देखि २०२० सम्मका संस्करणहरूमा २५ हजार ९५० भन्दा बढी तस्बिर क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत अपलोड भइसकेका छन्। यस पटकको नेपाल संस्करण सेप्टेम्बर १ देखि अक्टोबर १५, २०२६ सम्म चल्नेछ।

प्रतियोगितामा सहभागी हुन कुनै विशेष योग्यता आवश्यक छैन। जो कोहीले आफ्नै क्यामेराबाट खिचेका मौलिक तस्बिर अपलोड गर्न सक्छन्। उत्कृष्ट तस्बिरका लागि प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र विशेष योगदानका लागि ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

आयोजकले क्यामेरा बोकेर आएर तस्बिरमार्फत नेपालको जीवित सम्पदाको कथा विश्वलाई सुनाउन सबैलाई आह्वान गरेका छन्। फोटोवाकमा खिचिएका तस्बिर पनि प्रतियोगितामा सहभागी गराउन सकिनेछ। विस्तृत जानकारी अभियानको आधिकारिक पृष्ठमा उपलब्ध छ।

ताजा अपडेट

खोजी गर्नुहोस