नगरकोट क्षेत्रको जग्गा सिमाङ्कन प्रतिवेदन मण्डनदेउपुर नगरपालिकालाई हस्तान्तरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन २३, शुक्रबार (१ महिना अघि)
  • १५९ पटक पढिएको

नगरकोट क्षेत्रको जग्गा सिमाङ्कन प्रतिवेदन मण्डनदेउपुर नगरपालिकालाई हस्तान्तरण

नगरकोट/काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रमा सार्वजनिक, सरकारी र व्यक्तिगत जग्गाको पहिचान, रेखाङ्कन तथा सिमाङ्कनसम्बन्धी पहिलो चरणको प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

नगरपालिकाको आयोजनामा नगरकोटमा आयोजित कार्यक्रममा नापी कार्यालय काभ्रेका प्रमुख अशोक भुसालले नगर प्रमुख टोकबहादुर वाइवालाई उक्त प्रतिवेदन बुझाएका हुन्। नगरकोट क्षेत्रका सार्वजनिक, सरकारी तथा व्यक्तिगत जग्गाको पहिचान र सिमाङ्कन गरी व्यवस्थित अभिलेख तयार पार्ने उद्देश्यले यो कार्य अघि बढाइएको हो।

नगरपालिकाको निर्णयअनुसार नापी कार्यालय काभ्रे, भूमि प्रशासन कार्यालय काभ्रे र डिभिजन वन कार्यालय काभ्रेले संयुक्त रूपमा रेखाङ्कन तथा सिमाङ्कन कार्य गरेका थिए। नगर प्रमुख वाइवाले दशैंअघि दोस्रो चरणको सिमाङ्कन कार्य सम्पन्न गर्ने र त्यसको प्रतिवेदन प्राप्त भएपछि सार्वजनिक जग्गा संरक्षणको काम अगाडि बढाइने जानकारी दिएका छन्।

पहिलो चरणको प्रतिवेदनको तत्काल अध्ययन सुरु गर्ने र कार्यान्वयनमा प्रतिबद्ध रहेको उनले बताए। आफ्नो पहिलो कार्यकालमै सार्वजनिक जग्गा संरक्षणको तयारी थालिएको भए पनि दोस्रो कार्यकालको अन्तिम चरणमा आएर यो अभियानले मूर्त रूप पाएकोमा उनले खुसी व्यक्त गरे। रेखाङ्कन र सिमाङ्कनपछि होटल व्यवसायीलगायत सर्वसाधारणले जग्गासम्बन्धी भोग्दै आएका समस्या समाधान हुने उनको विश्वास छ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख वाइवाले गरेका थिए भने उपप्रमुख विष्णुमणि नेपालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नापी कार्यालयका प्रमुख अशोक भुसाल, भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदी, नापी अधिकृत जयराम तामाङ र डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापालगायतले सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए।

नगरकोट क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गाको पहिचान र संरक्षण, व्यवस्थित अभिलेखीकरण तथा सीमा विवाद न्यूनीकरणमा यो प्रतिवेदनले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय व्यवसायीहरूले जग्गासम्बन्धी आफूहरूले भोग्दै आएका समस्याका बारेमा जिज्ञासा पनि राखेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस