मनकामना बचत तथा ऋण सहकारीको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन २४, शनिबार (१ महिना अघि)
  • १८८ पटक पढिएको

मनकामना बचत तथा ऋण सहकारीको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

बनेपा /काभ्रेको बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२, २३ र २४ गते चरणबद्ध रूपमा सञ्चालन भएको सभाको समापन शनिबार बनेपाको पञ्चकन्या ब्याङ्क्वेटमा भएको हो।

संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापनादेखि हालसम्मको अवस्थाबारे जानकारी गराए। उनले ३१ वर्षको यात्रामा सहयोग गर्ने सदस्य, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरे।

संस्था २०५२ साल मंसिर १८ गते तत्कालीन सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई २६ जना सदस्यबाट सुरु भएको थियो। हाल शेयर सदस्य संख्या १० हजार ५४४ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ सम्मको विवरणअनुसार संस्थाको कुल वासलात दुई अर्ब ३० करोड ५२ लाख ९८ हजार ६४३ रुपैयाँ रहेको छ। बचत एक अर्ब ९२ करोड ९६ लाख आठ हजार २२६ रुपैयाँ र ऋण लगानी एक अर्ब ६९ करोड ९८ लाख ६५ हजार ७१९ रुपैयाँ छ। शेयर पुँजी १६ करोड २४ लाख १४ हजार ७०० रुपैयाँ र संस्थागत पुँजी १७ करोड रुपैयाँ पुगेको छ।

सचिव नवराज आचार्यले सचिवको प्रतिवेदन र कोषाध्यक्ष विकास शर्मा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका गतिविधि पनि निरन्तर सञ्चालन गर्दै आएको जनाइएको छ।

समापन कार्यक्रममा निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथि र अध्यक्ष गोपालप्रसाद घिमिरे सभापति रहनुभएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान गरियो। सबै शाखाका उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता र एसईई उत्तीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान दिइएको थियो। निःशुल्क स्वास्थ्य शिविरमा योगदान पुर्‍याएको भन्दै बनेपा हेल्थ केयर प्रालिलाई कदरपत्र प्रदान गरियो। वरिष्ठ लेखा अधिकृत श्रीजना पराजुली उत्कृष्ट कर्मचारी र बेथानचोक सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्रका रूपमा सम्मानित भए।

साधारण सभाले संस्थाको आर्थिक अवस्था, सदस्य विस्तार, सेवा प्रवाह र सामाजिक उत्तरदायित्वको समीक्षा गर्ने अवसर दिएको छ। तीन दशकभन्दा लामो यात्रामा सदस्यको विश्वास कायम राख्दै वित्तीय सेवा विस्तार र समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस