काभ्रेको बेथानचोकमा लेदो र ग्राभेलले घर पुरियो, १६ जनाको सकुशल उद्धार

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ कार्तिक १४, शनिबार (२ हप्ता अघि)
  • १८० पटक पढिएको

काभ्रेको बेथानचोकमा लेदो र ग्राभेलले घर पुरियो, १६ जनाको सकुशल उद्धार

काभ्रे। बेथानचोक गाउँपालिका–४ स्थित खहरे खोला क्षेत्रमा शनिबार बिहान अविरल वर्षाका कारण माथिबाट बगेर आएको लेदो र ग्राभेलले एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घर तथा गोठमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रबिन कार्कीका अनुसार बिहान करिब ८:४० बजेतिर ग्राभेलसहितको लेदो बगेर आउँदा स्थानीय शेरबहादुर तामाङको ढुङ्गामाटोले बनेको एकतले जस्ताको छानो भएको घर पुरिएको हो। हाल उक्त घरको छानाको जस्ता मात्र देखिएको छ। सोही स्थानमा रहेको तामाङकै अर्को तीनतले घरभित्र पनि लेदो माटोसहितको भल पसेको छ।

त्यस्तै स्थानीय हर्कबहादुर तामाङको तीनतले ढुङ्गामाटोको घरमा समेत लेदो माटोसहितको पानी पसेको छ। घर नजिकै काठ र जस्तापाताले बनेको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी चौकी खोपासीबाट खटिएको टोलीले दुवै परिवारका आठ–आठ जना गरी कुल १६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा रहेको आफन्तको घरमा स्थानान्तरण गरिएको छ। घटनामा कुनै पनि मानवीय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस