बासडोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, २८ जनाले गरे स्वेच्छिक रक्तदान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ कार्तिक १५, आईतबार (२ हप्ता अघि)
  • १२३ पटक पढिएको

बासडोलमा  खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, २८ जनाले गरे स्वेच्छिक रक्तदान

बनेपा। बनेपा नगरपालिका–१२ मा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा र युवा परिवर्तन समाज बासडोलको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २८ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

आइतबार आयोजित उक्त कार्यक्रममा स्थानीय रक्तदाताहरूले उत्साहका साथ सहभागिता जनाउँदै मानवीय सेवामा योगदान पुर्‍याएका थिए। कार्यक्रममा उपस्थित जनप्रतिनिधि, रेडक्रस उपशाखाका पदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्वपदाधिकारीहरूले रक्तदाताहरूलाई हौसला दिएका थिए।

कार्यक्रम सफल बनाउन युवा परिवर्तन समाज बासडोलका अध्यक्ष, पदाधिकारी र सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै आयोजकले उनीहरूप्रति आभार व्यक्त गरेका छन्। काभ्रे जिल्ला रक्तसञ्चार केन्द्रको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मीहरूले सहयोग तथा समन्वय गरेका थिए। उनीहरूलाई पनि धन्यवाद दिइएको छ।

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्मा वाग्लेले रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित सम्पन्न यस कार्यक्रमले समुदायमा रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय भावना र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा आयोजकले गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस