काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन १९, शनिबार (१ हप्ता अघि)
  • ११६ पटक पढिएको

काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ।

हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक÷एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो।

काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताए। उनका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो।

सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ। ‘स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली पुग्नेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी सुवास पोडेलले भने।

मृतक प्रति व्यक्तिले संघीय सरकारबाट दुई लाख नगद राहत पाउनेछन्। परिवारमा एकभन्दा बढी मृतकको हकमा दुई लाखमा एक लाख थपिने जनाइएको छ।

गत साताको बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनःनिर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये जिल्लाका रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन्।

जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन्। पाँच जना अझै बेपत्ता रहेको तथा ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस