काभ्रे । अरनिको राजमार्गअन्तर्गत सुर्यबिनायक साँगा–धुलिखेल सडकखण्ड विस्तार दुई वर्षमा ३८ प्रतिशत मात्रै काम भएको छ । तीन वर्षभित्र पूरा हुने गरी दुई वर्षअघि सडक बिस्तार कार्य थालिएको थियो ।
२०७९ पुस २४ गते दुई खण्डमा गरी ३ वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो ।
सडक विस्तारका लागि ७ दशमलव ५ किमी लामो सूर्यविनायक(साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा(धुलिखेल ८ दशमलव ४ किमी सडक खण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्काको म्याद २०८२ को पुस मसान्तसम्म रहेको छ ।
‘अहिलेसम्म जम्मा ३८ प्रतिशत भौतिक प्रगति भएको छ,’ सूचना अधिकारीसमेत रहेकी इन्जिनियर सजना अधिकारीले काभ्रे खबर संग भनिन्, ‘ठेक्काको म्याद अझै करिब १ वर्ष छ । कतिपय ठाउँमा घरटहरा हटाउने काम भइरहेको छ । बिजुलीको पोल पनि हटाउन अलिकति गाह्रो भइरहेको छ ।’ सडक पर्ने जग्गाभित्र अनधिकृत रूपमा बनाइएका कतिपय घरको क्षतिपूर्तिको विषयबारे निर्णयमा पुग्न नसक्दा निर्माणमा ढिलाइ भएको अधिकारीको भनाइ छ ।
यो आयोजनामध्ये सूर्यविनायक(साँगा खण्डमा अशिषकुमार बन्धन भगवती जेभी नामको निर्माण कम्पनीले काम गरिरहेको छ भने साँगा(धुलिखेलसम्म लामा कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
बीचमा पर्ने पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
इन्जिनियर अधिकारीले समयमै काम सम्पन्न हुने लक्ष्य राखिएको भएता पनि कतिपय बाधा व्यवधान आएका कारण शंका रहेको बताइन् ।
बीपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न लागिएको हो । सडक विस्तारका क्रममा भएको अवरोधका कारण अहिले यहाँ यात्रुले जाम खेप्न बाध्य भएका छन् ।