नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ फागुन २७, मंगलबार (२० घण्टा अघि)
  • ७६ पटक पढिएको

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रे । काभ्रेको प्रशिद्ध धार्मिकस्थल नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं= १ नमोबुद्ध गुम्बा नजिकै पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटक सूचना केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी बिक्रीका लागि स्टलसमेत राखिएको छ ।

नमोबुद्धमा पर्यटन प्रवर्द्धनसँगै अर्गानिक कृषिलाई प्रवर्द्धन गर्न स्थानीय किसानसँगको तरकारी बिक्रीस्थल राखिएको हो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा काभ्रेको नमोबुद्धमा स्थापना गरिएको नमोबुद्ध पर्यटक सूचना केन्द्रको कोइका नेपालका कन्ट्री डाइरेक्टर माेह्युन कङ र नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

पर्यटक सूचना केन्द्र निर्माणका लागि कोइकाले २६ लाख रुपैयाँ सहयोग गरेको छ भने नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । सूचना केन्द्रमा अर्गानिक तरकारी उत्पादक किसानको प्रोफाइलसहित अर्गानिक तरकारी उत्पादन प्रक्रियाका विषयमा समेत जानकारीमुलक सामग्री राखिएको छ ।
कार्यक्रममा कोइका नेपालका कन्ट्री डाइरेक्टर कङले सन् १९९१ देखि नै कोइकाले स्वयंसेवकहरूमार्फत नेपालको शिक्षा, स्वास्थ्य सेवा, कृषि, पर्यटन र ग्रामीण विकास जस्ता क्षेत्रमा योगदान गर्दै आएको वताए।

यस्ता कार्यले नेपाल र कोरियावीचको अझै सम्बन्धलाई सुदृढ पार्न मद्दत गरेको उनले वताए । पर्यटक सूचना केन्द्रसँगै सुरु गरिएको अर्गानिक उत्पादन बिक्री कक्षले नमोबुद्ध नगरपालिकामा स्थानीय जैविक कृषि उत्पादनको प्रवर्द्धनलाई ठूलो फाइदा पुर्‍याउने विश्वास समेत उनले व्यक्त गरे।

नगर प्रमुख कुनसाङ लामाले कोइकाले गरेको सहयोगले नमोबुद्ध नगरपालिकामा कृषि र पर्यटनको प्रवर्द्धनमा महत्वपुर्ण भूमिका खेल्ने वताए । नमोबुद्ध क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक पुर्वाधार निर्माणको काम विगतदेखी नै गरिरहेको वताउँदै लामाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नमोबुद्धको प्रचार गर्न पर्यटक सूचना केन्द्र प्रभावकारी हुने विश्वास पनि व्यक्त गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कोइकासँगको सहकार्यमा पर्यटक सूचना केन्द्र स्थापना गर्न सकेकोमा खुशी व्यक्त गर्दै यसले नमोबुद्ध आउने पर्यटकलाई सहजता हुने वताए । कार्यक्रममा उक्त परियोजना हेर्ने कोइकाका प्रतिनिधि लिम योंग म्यानले आफूले नमोबुद्ध आउँदा गरेको सर्वेक्षणको क्रममा अन्य तरकारी र अर्गानिक तरकारी उत्तिकै मुल्यमा बेच्ने गरेको पाएको भन्दै अब भने अर्गानिक तरकारी उत्पादक किसानले राम्रो बजार मुल्य पाउनसक्ने बताए । नमोबुद्ध नगरपालिका कृषि उत्पादनका लागि उर्वर भूमि रहेको भन्दै अर्गानिक उत्पादनमा जोड दिइनुपर्ने उनले बताए ।

कार्यक्रममा उपप्रमुख रत्न लामा, वडा नं ११ का अध्यक्ष कृष्णवहादुर लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेकपा एमाले नमोबुद्ध नगर कमिटी अध्यक्ष गणेश मोक्तान लगायतले पर्यटन र कृषि विकासका बारेमा आफ्नो धारणा राखेका थिए । पर्यटक सूचना केन्द्रका लागि नगरपालिकाले जग्गा उपलव्ध गराएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस