हिसानमा दीपक भट्टको नेतृत्वमा नयाँ कार्यसमिति

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ चैत्र ७, बिहिबार (१ हप्ता अघि)
  • ९९ पटक पढिएको

हिसानमा दीपक भट्टको नेतृत्वमा नयाँ कार्यसमिति

बनेपा । उच्च माध्यामिक विद्यालय संघ हिसान काभ्रेको दोस्रो अधिवेशनले निष्ट कलेज बनेपाका दीपक भट्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

आज बनेपामा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट संघको उपाध्यक्षमा अग्नी ज्ञवाली, सचिवमा विशाल घिमिरे र कोषाध्यक्षमा रामप्रसाद तिमल्सिना निर्वाचित भए । यस्तै सदस्यहरुमा अर्जुन खड्का, इन्दु थापा, रेश्मा थापा र सुधिर न्यौपाने निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन हिसानका केन्द्रीय उपाध्यक्ष रामहरि सिलवालले गरेका थिए । उद्घाटन कार्यक्रममा सिलवालले काभ्रेमा निजी विद्यालय र कलेजहरुले मुलुकको शिक्षाक्षेत्रमा अतुलनीय योगदान दिए पनि राज्यले भने हेयको दृष्टिले हेरिरहेको बताए । निजी विद्यालय र कलेज सञ्चालकहरुको लगानी जोखिममा पुगेको भन्दै त्यसविरुद्ध हिसान, प्याव्सन, एनप्याव्सन लगायतका संघसंस्था एकतावद्ध हुनुपर्ने बताए ।

शिक्षा क्षेत्रका निजी लगानीकर्ताहरुकै कारण विद्यालय शिक्षा र प्लसटु तहका विद्यार्थीहरु गुणस्तरीय शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य भए पनि सरकारले लगानी सुरक्षाको वातावरण बनाउन नसकेको बताए । सामूदायिक विद्यालयलाई अस्तव्यस्त बनाउने र निजी क्षेत्रलाई हेप्ने गरेका कारण समग्र शैक्षिक क्षेत्रमै असर परिरहेको उनले आपसी प्रतिस्पर्धा भन्दा समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । काभ्रेमा निजी क्षेत्रबाट आधारभुत तहदेखि प्लसटु तहसम्म पढाउने विद्यालय कम भए पनि गुणस्तरीय शिक्षा दिनका लागि भने अग्रपंक्तिमा काभ्रे जिल्ला रहेको बताए ।

कार्यक्रममा प्याव्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीले हिसानअन्तर्गतका कलेजमा ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको भन्दै भौगोलिक अवस्थाका कारण पनि काभ्रेमा उच्च मावि सञ्चालनमा अझै जोखिम रहेको बताए । शिक्षा क्षेत्रको समस्या समाधानका लागि प्याव्सनले सबै पक्षसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनले बताए । हिसान वागमति प्रदेश अध्यक्ष भवानी पौडेलले काभ्रेमा उच्च शिक्षा दिइरहेका कलेजहरुले देशकै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिरहेको बताए । प्याव्सन, एनप्याव्सनसँग सहकार्य गर्दै हिसाले आगामी दिनमा निजी क्षेत्रका विद्यालय र कलेजको लगानी सुरक्षा र गुणस्तरीयता वृद्धिका लागि काम गर्ने उनले बताए ।

हिसान काभ्रेका अध्यक्ष पवन थापाले संख्यात्मकरुपमा काभ्रेमा उच्च शिक्षा दिने निजी क्षेत्रका कलेज कम भएकाले हिसानलाई सोचेजसरी चलायमान बनाउन नसकेको भन्दै अवको नेतृत्वले सबैलाई एकतावद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे । समृद्धिका लागि शिक्षा अनिवार्य रहेको भन्दै थापाले हिसानले राज्यको नीति निर्माण तहमा शिक्षासम्वन्धी नीतिगत व्यवस्थापनको समयानुकुल परिमार्जनका लागि बहस पैरवी र पहल गरिरहेको बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दीपक भट्टले हिसानका गतिविधिलाई थप सक्रिय बनाउँदै निजी क्षेत्रका उच्च शिक्षा दिने संस्थाहरुको हकहितका लागि सदैव लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्याव्सनको केन्द्रीय उपमहासचिवमा निर्वाचित भीमसेन केसी, प्याव्सनको उत्कृष्ट जिल्ला अध्यक्षकोरुपमा सम्मानित प्याव्सन काभ्रेका अध्यक्ष श्याम भुजेल र एनप्याव्सनको केन्द्रीय सदस्यमा निर्वाचित अग्नि ज्ञवालीलाई सम्मानसमेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस