अहिलेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ चैत्र १४, बिहिबार (४ दिन अघि)
  • ८६ पटक पढिएको

अहिलेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

बनेपा । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।

बनेपा नगरपालिकाको ४४ औँ स्थापना दिवसको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए।

‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने । उनले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए।

अहिलेको परिवर्तन उस्सै प्राप्त नभएको र जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए। उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए । उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए।

नगरको स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। नगरका कर्मचारी, शिक्षामा योगदान दिने व्यक्तित्वहरू, खेलकुद तथा कृषिमा उत्कृष्ट कार्य गर्ने किसानहरू, साथै एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, तीर्थ लामा, प्रदेशसभा सदस्य रुकु चौंलागाँई, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधहरु, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, पूर्व नगरप्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगायतले स्थानीय तहका कामकारबाही र जनचाहनाबारे आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा हालसालै काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्रा. डा. अच्युतप्रसाद वाग्लेलाई समेत विशेष सम्मान प्रदान गरियो।

कार्यक्रमलाई सफल बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, र नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस