संगठन सुदृढ बनाउने संकल्पसहित बनेपा नगर सभापतिमा सुधिर बैधको उम्मेदवारी


संगठन सुदृढ बनाउने संकल्पसहित बनेपा नगर सभापतिमा सुधिर बैधको उम्मेदवारी

बनेपा। नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, आदर्श, नीति, विधि र पद्धतिलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ, संगठित, एकताबद्ध र गतिशील बनाउने संकल्पसहित सुधिर बैधले आगामी अधिवेशनमा बनेपा नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, “यो उम्मेदवारी कुनै व्यक्तिगत पद वा प्रतिष्ठाका लागि मात्र होइन, संगठनलाई बलियो बनाउने, कांग्रेसजनबीच आपसी एकता र सहकार्य अझ मजबुत बनाउने तथा पार्टीलाई जनतासँग अझ नजिक जोड्ने उद्देश्यका साथ अघि बढाइएको मेरो राजनीतिक यात्राको अर्को जिम्मेवारी हो।”

पार्टीको नीति, विधि र पद्धतिलाई सर्वोपरि राख्दै सबै साथीहरूको भावना, सुझाव र योगदानलाई सम्मान गर्ने संस्कारको विकास गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। अग्रजहरूको अनुभव, समकालीन साथीहरूको ऊर्जा र नयाँ पुस्ताको सोचलाई एकै ठाउँमा जोड्दै बलियो र व्यवस्थित कांग्रेस निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

व्यक्तिभन्दा संगठन, गुटभन्दा एकता र स्वार्थभन्दा पार्टीलाई प्राथमिकतामा राख्दै नगरका प्रत्येक वडा, टोल र तहसम्म नेपाली कांग्रेसको संगठनलाई थप सक्रिय, व्यवस्थित र मजबुत बनाउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता पनि जनाएका छन्।

उम्मेदवारी घोषणापत्रमा नेपाली कांग्रेसका सम्पूर्ण समर्थक, शुभेच्छुक, क्रियाशील सदस्य, अग्रज नेतागण, साथीहरू तथा सम्पूर्ण प्रतिनिधिज्यूहरूको साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा गर्दै उनले भनेका छन्, “तपाईंहरूको साथ र विश्वासले मलाई थप जिम्मेवार भएर काम गर्ने ऊर्जा दिनेछ भन्ने पूर्ण विश्वास लिएको छु। आउनुहोस्, एकताबद्ध कांग्रेस, संगठित कांग्रेस र सुदृढ कांग्रेस निर्माणको यात्रामा सँगसँगै अघि बढौँ।”

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते हुँदैछ। महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न तहमा नेतृत्वका आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस