
काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आन्तरिक संरचना र कार्यकर्तासँगको सम्बन्धलाई डिजिटल प्रविधिसँग जोड्ने बहस तीव्र भइरहेका बेला केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदका लागि विश्वदीप लामिछानेले उम्मेद्वारी घोषणा गरेका छन्।
“अनुभव, क्षमता र प्रविधिको सङ्गम: समावेशी कांग्रेस, समृद्ध नेपाल” नारासहित चुनावी मैदानमा उत्रिएका लामिछानेले पार्टी सङ्गठनलाई डिजिटल युग सुहाउँदो बनाउने कार्ययोजना अघि सारेका छन्। उनी मिडिया, ब्रान्डिङ र प्रविधि क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य र पूर्व डिजिटल प्रचारप्रसार संयोजक रहेका लामिछानेले कान्तिपुर लगायतका टेलिभिजनमा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्। भिजुअल इफेक्ट्सतर्फ ‘इसेज अवार्ड २००८’ विजेता उनी डिजाइन, एनिमेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विशेष दक्षता राख्छन्।
लामिछानेको अवधारणा अनुसार परम्परागत राजनीतिक सम्बन्धलाई जोगाउँदै डिजिटल प्रविधि र एआईको प्रयोगमार्फत पार्टीको सञ्चार प्रणालीलाई प्रभावकारी बनाइनेछ। वडा देखि केन्द्रसम्म दुईतर्फी सूचना आदानप्रदान सहज बनाउन डिजिटल टोलीको परिकल्पना गरिएको छ।
उनको योजनाका मुख्य आधारहरू यस प्रकार छन्:
• सङ्गठन र कार्यकर्ताको डिजिटल आबद्धतामार्फत नीति, तालिम र सूचनामा सीधा पहुँच
• एउटै आधिकारिक स्रोतबाट तयार गरिएका विषयवस्तुलाई एआईको सहयोगमा विभिन्न ढाँचा र भाषामा रूपान्तरण गरी सर्वसाधारणसम्म पुर्याउने प्रचार-प्रसार
• प्रतिवेदनको सार निकाल्ने, दस्ताबेज तयार पार्ने र दोहोरिने काममा समय बचत गरी कार्यकर्तालाई प्रत्यक्ष जनसम्पर्कमा खटाउने
• ‘सुन्ने कांग्रेस’ को अवधारणासहित जनताका प्रश्न, सुझाव र समस्या डिजिटल माध्यमबाट सङ्कलन गरी सम्बन्धित तहसम्म पुर्याउने व्यवस्था
डिजिटल मिडिया र एआई क्षेत्रको दक्षतालाई पार्टीको हितमा प्रयोग गर्ने उनको यो प्रयासले नेपाली कांग्रेसलाई केवल भाषण गर्ने मात्र नभई जनताको कुरा सुन्ने र पारदर्शी रूपमा काम गर्ने आधुनिक पार्टीका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।