
काभ्रे — उज्यालो नेपाल पार्टीको काभ्रे जिल्ला कमिटीको पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमसँगै जिल्लामा पार्टी प्रवेशको लहर देखिएको छ। बनेपामा आयोजित उक्त कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी अध्यक्ष कुलमान घिसिङको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलमा सक्रिय नेता तथा कार्यकर्ताले आफ्नो दल छाडेर उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। रोशी गाउँपालिका–१ का नेपाली कांग्रेसका युवा नेता तथा काभ्रे–काठमाडौं सम्पर्क मञ्चका सचिव अशोक लामाको नेतृत्वमा सोही वडाका मंगोल नेशनल अर्गनाइजेसनका जिल्ला सदस्य राजु थिङ तामाङसहित विभिन्न तहका सयौँ युवा नेता–कार्यकर्ताले पार्टीमा आबद्ध भएको पार्टी सचिवालय सदस्य ज्योत्सना सैंजुले जानकारी दिएकी छन्।
नवप्रवेशीहरूले आफ्नो निर्णय कुनै व्यक्ति वा पदको आकर्षणका कारण नभई राजनीतिक परिवर्तन, सुशासन, जवाफदेहिता र परिणाममुखी शासन प्रणालीको आवश्यकता महसुस गरेर गरेको बताएका छन्। लामो समयदेखि विभिन्न दलमा रहेर काम गर्दा पनि जनताले चाहेको परिवर्तन व्यवहारमा पर्याप्त रूपमा नदेखिएको उनीहरूको भनाइ छ। त्यसैले नयाँ सोच र नयाँ राजनीतिक संस्कार आवश्यक भएको उनीहरूले उल्लेख गरेका छन्।
युवाहरूले देशको राजनीतिक नेतृत्व र निर्णय प्रक्रियामा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता जरुरी रहेको समेत बताएका छन्। उनीहरूले व्यक्तिगत फाइदाभन्दा सुशासन, पारदर्शिता, अवसरको समानता र देश निर्माणको एजेन्डालाई प्राथमिकता दिएर पार्टीमा प्रवेश गरेको दाबी गरेका छन्।
अध्यक्ष कुलमान घिसिङले नवप्रवेशीहरूलाई स्वागत गर्दै राजनीतिक परिवर्तनका लागि युवा सहभागिता महत्त्वपूर्ण रहेको बताए। उनले पार्टीलाई संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष जोडिने र परिणाम देखिने राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
काभ्रेमा भएको यो सामूहिक प्रवेशले जिल्लाको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। नेपाली कांग्रेसको गगन थापा नेतृत्वको १५औं महाधिवेशनको संघारमा विभिन्न पृष्ठभूमिका युवा नेता–कार्यकर्ताको सहभागिताले नयाँ राजनीतिक विकल्पप्रति युवाको चासो बढेको संकेत गरेको नवप्रवेशीहरूको भनाइ छ।
अशोक लामाको नेतृत्वमा भएको यो प्रवेशलाई काभ्रेमा उज्यालो नेपाल पार्टीको संगठन विस्तारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। नवप्रवेशी नेता–कार्यकर्ताले आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा संगठन विस्तार र जनतासँग जोडिने अभियानलाई थप प्रभावकारी बनाउने योजना रहेको बताएका छन्।