देशका विभिन्न स्थानमा प्रहरीले भाङ तथा गाँजा खेती नष्ट अभियान चलाउँदै आएको छ। कतिपय ठाउँमा भाङ खेती गरिरहेका किसानलाई सजाय पनि गरिएको छ। कानूनी रुपमा भाङ गर्न पाइँदैन।
हालै प्रकाशित एक अध्ययनले भने भाङलाई बैकल्पिक बालीको रूपमा अर्थ्याएको छ। अमेरिकाको अबर्न विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका सागर काफ्लेको नेतृत्वको टोलीले गरेको अध्ययनमा भाङ बहु-लाभकारी बाली भएकाले प्रतिबन्ध हटाएर आर्थिक रूपमा सम्पन्नतातर्फ अग्रसर हुन सकिने देखाइएको छ।
‘रिन्युबल एन्ड सस्टेनेबल इनर्जी रिभ्यूज’ जर्नलमा प्रकाशित ‘इन्डस्ट्रिअल हेम्प इन नेपाल : प्रोडक्सन एन्ड भ्यालोरिजेशन प्रस्पेक्टिभ्स’ शीर्षकको अनुसन्धानमूलक लेखमा भाङलाई बैकल्पिक बालीका रुपमा उभ्याइएको हो। अध्ययनमा काफ्लेसँगै विवेक पौडेल, पुरुषोत्तम ज्ञवाली, डिल्लीराम भट्टराई, त्रिदेव आचार्य, रुपेश आचार्य, सौरभ ढकाल, प्रज्वल प्रधान र सुशील अधिकारी सहभागी थिए।
गाँजा र भाङ एउटै प्रजाति अन्तर्गत पर्छन्। तर, भाङमा ‘टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी)’ ०.३५ प्रतिशत वा यसभन्दा पनि कम हुन्छ। गाँजा भने टीएचसीको मात्र त्योभन्दा बढी हुन्छ। त्यसैले नशा लाग्ने गरेको अनुसन्धाता बताउँछन्। उनीहरूले गाँजा र भाङलाई एउटै ठाउँमा राखेर नहेर्न पनि आग्रह गरेका छन्।
अध्ययनले नेपालमा भाङको औद्योगीकरण गरी बढीभन्दा बढी आयआर्जन गर्न सकिने सम्भावना रहेको औल्याएको छ। नेपालमा करीब २.८ लाख हेक्टर जमीनमा भाङ खेती गर्न सकिने पाइएको छ। जसमध्ये भाङ खेतीका लागि पहाडी क्षेत्रमा ७१ प्रतिशत, तराईमा २८ प्रतिशत र हिमाली क्षेत्रमा १ प्रतिशत रहेको अध्ययनमा सहभागी कृषि इन्जिनियर विवेक पौडेल बताउँछन्। त्यस्तै, प्रदेशगत रूपमा सबैभन्दा बढी सम्भावना कोशीमा देखिएको छ। त्यसपछि लुम्बिनीमा र सबैभन्दा कम सुदूरपश्चिममा भाङ खेतीका लागि उपयुक्त क्षेत्र रहेको पौडेलको भनाइ छ।
नेपाल भाङ खेती गर्न सकिने क्षेत्र।
अध्ययनमा माटो, भौगोलिक उचाइ, जलवायु र सडक सञ्जाललाई ध्यानमा राख्दै भाङ उत्पादनका लागि उच्च, मध्यम र कम सम्भाव्य क्षेत्रहरू वर्गीकरण गरिएको छ। धेरैजसो पहिचान गरिएका क्षेत्र मध्यम सम्भावना भएका देखिएका छन्।
किसान धान, गहुँ र मकै जस्ता प्रमुख बालीमा आश्रित हुने गरेका छन्। अझ कृषि पेशामा परम्परागत अभ्यास र आधुनिक प्रविधिको कम प्रयोगले उत्पादन र नाफा कम हुँदै गएको अनुसन्धाताको भनाइ छ।
पछिल्लो समय किसानले वैकल्पिक पेशा रोज्न थालेका छन्। यससँगै जग्गा बाँझो छाड्ने क्रम बढ्दै गएको छ। अध्ययनहरूले सन् २००१/२ देखि २०२१/२२ सम्म ४.३ लाख हेक्टर कृषियोग्य जमीन घटेको देखाएको छ।
संसारको अन्य देशको तुलनामा नेपालमा भाङ खेतीमा लागत पनि कम हुने अध्ययनले देखाएको छ। नेपालमा भाङ खेती गर्न प्रतिहेक्टर तीन हजार १७७ अमेरिकी डलर लागन अनुमान गरिएको छ। भाङको रेशा र बीउबाट प्रतिहेक्टर १० हजार ४५० अमेरिकी डलर कमाइ हुने आकलन छ। नेपालमा भाङ खेतीबाट प्रतिहेक्टर सात हजार २७३ अमेरिकी डलर नाफा हुने देखिएको काफ्ले बताउँछन्।
यससँगै अध्ययनले एक हेक्टरमा लगाएको भाङबाट ४४.७ टन बायोमास, ३.६ टन रेशा र २.५ टन बीउ उत्पादन हुने देखाएको छ। उत्पादन तथ्यांकका आधारमा अध्ययनले सम्भाव्य क्षेत्रहरूबाट कुल बायोमास क्षमता ८७ लाख टन, रेशा क्षमता सात लाख टन र बीउ क्षमता पाँच लाख टन पहिचान गरिएको छ।
अध्ययनमा संलग्न अमेरिकाको अबर्न विश्वविद्यालयको बायोइनर्जी एन्ड बायोप्रडक्टस् सेन्टरका निर्देशक प्रा.डा. सुशील अधिकारी भाङ खेतीबाट उत्पादित बायोमास अवशेष र तेलबाट जैविक ऊर्जा उत्पादन गर्न सकिने बताउँछन्। “सम्भावित क्षेत्रहरूबाट लगभग ४१ लाख टन ठोस इन्धन (पलेट तथा ब्रिकेट) उत्पादन गर्न सकिन्छ। यसबाट ऊर्जा खपतमा लगभग १० प्रतिशत योगदान पुर्याउन सकिन्छ,” अधिकारी भन्छन्।
उनका अनुसार, भाङको तेलबाट १५ करोड लिटर जैविक डिजेल उत्पादन गर्न सकिन्छ। यसबाट देशमा खपत भइरहेको डिजेलको ८ प्रतिशत घटाउन सकिने उनको भनाइ छ।
अध्ययनमा संलग्न अमेरिकाको नेब्रास्का-लिंकन विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका अनुसन्धाता डिल्लीराम भट्टराई भाङ खेतीमा रासायनिक मलको मात्रा कम प्रयोग हुने बताउँछन्। जसले गर्दा माटो र पानीको संरक्षणमा समेत सहयोग पुग्ने अनुसन्धाताको भनाइ छ। भाङलाई वैकल्पिक बालीको रुपमा दीर्घकालीन विकल्पको रूपमा लैजानुपर्नेमा भट्टराईको जोड छ।
भाङ खेतीले नयाँ रोजगारी पनि सिर्जना गर्ने देखिएको अध्ययनमा संलग्न नेदरल्यान्डसको ग्रोनिंगेन विश्वविद्यालयका उप-प्राध्यापक डा. प्रजल प्रधान बताउँछन्। “भाङ खेतीले किसानको आय बढाउँछ, जीवाश्म इन्धनलाई जैविक ऊर्जाले प्रतिस्थापन गर्न मद्दत गर्छ,” प्रधान भन्छन्।
भाङको विश्वव्यापी बजार वृद्धि भइरहेकाले धेरै देशले प्रतिबन्ध हटाइरहेका छन्। यस अध्ययनमा संलग्न अनुसन्धाताता पनि भाङका आर्थिक र वातावरणीय फाइदा मूल्यांकन गर्दै प्रतिबन्ध हटाइनुपर्ने बताउँछन्। भाङ र गाँजामाथिको प्रतिबन्ध हटाउने नेपालमा पनि आवाज उठ्दै आएको छ।
गाँजाका कारण भाङमा प्रतिबन्ध लगाइँदै आएको छ। गाँजा र भाङबीचको फरक बुझेर प्रतिबन्ध हटाउनुपर्ने उद्यमीहरूको पनि भनाइ छ। प्रतिबन्ध हटाउनुपर्ने अभियानमा संलग्न युवा उद्यमी सौरभ ढकाल भन्छन्, “गाँजा र भाङबीचको फरक पहिचान गरी स्थानीय सरकारहरूलाई नियमन, अनुगमन र प्रवद्र्धन गर्ने जिम्मेवारी दिएर भाङमा लगाइएको प्रतिबन्ध हटाउनुपर्छ।”
अर्का, युवा उद्यमी धिरजकुमार साह भाङको उपयोग गर्नुपर्ने बताउँछन्। “आर्थिक रूपले सम्पन्न देशले आधुनिक प्रविधिको सहयोग लिँदै प्राकृतिक स्रोत साधनको उपयोग गरिरहेका छन्। त्यसको सिको नेपालले पनि गर्नुपर्छ,” उनी भन्छन्।
गाँजा तथा भाङको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका पूर्व मन्त्री शेरबहादुर तामाङ भाङ खेतीबाट किसानलाई आर्थिक रुपमा सबल बनाउन सकिने बताउँछन्। भाङ खेतीमाथि लगाइएको प्रतिबन्ध हटाएर कारोबारलाई नियमन गर्नुपर्ने तामाङको भनाइ छ।
यस अध्ययनको नेतृत्वका गरेको अनुसन्धाता काफ्ले पनि नेपालमा भाङ खेती र औद्योगिकीकरण गर्न कानून बनाउनुपर्ने बताउँछन्। “भाङबाट उत्पादित वस्तु नेपाली बजारमै प्रयोग गर्न सकिन्छ,” उनी भन्छन्, “सरकारले वैधानिक बनाएर आर्थिक र वातावरण अनुकुल लाभ उठाउनुपर्छ।”