पलेशालाई माओवादी अध्यक्ष दाहालको सम्मान

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ९१ पटक पढिएको

पलेशालाई माओवादी अध्यक्ष दाहालको सम्मान

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका छन्।

शुक्रबार खुलमटारमा एक कार्यक्रम आयोजना गर्दै उनले पलेशालाई सम्मान गरेका हुन्। सो अवसरमा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरिएको थियो।

अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए। उनले भने, ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ।’

खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित भएको उनले बताए।

पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिए।

अध्यक्ष दाहालले यस जितका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो सङ्घ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकामा धन्यवाद र बधाई दिए।

पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताइन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस