काभ्रे । दोस्रो बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी ललितपुर महानगरपालिकाले जितेको छ ।
आज भएको फाइनल खेलमा ३(० को सोझो सेटमा प्रोफेश्नल कन्सल्टेन्सी नमोबुद्धलाई पराजित गर्दै ललितपुरले उपाधी जितेको हो ।
उपाधिसँगै ललितपुर महानगरले नगद एक लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता प्रोफेश्नल कन्सल्टेन्सीले ५० हजार रुपैयाँ र तेस्रो टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । आजै भएको खेलमा न्यु डायमण्डले बुढानिलकन्ठ भलिबल क्लवलाई पराजित गरेको हो ।
प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि ललितपुर महानगरकी अन्जना खड्काले पाइन् ।
यस्तै बेष्ट सेटर कविता राई, बेष्ट लिबेरो गिरिश्मा गुरुङ, बेष्ट स्पाइकर रोमा महतो, बेष्ट ब्लकर निर्मा चौधरी र बेष्ट सर्भरको उपाधि नेहा चौधरीले पाइन् । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । विजयी टीम तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल लगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
बनेपा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापन बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको थियो ।